१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

कोशीकी उपसभामुख सिर्जना काठमाडौं यात्रामा

सोमबार बिहानका लागि तय गरिएको कार्यव्यवस्था बैठकसमेत दिउँसोलाई सर्यो

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार बिरामी बिदा लिएर काठमाडौं लागेसँगै सरकारको आयु पनि संकटमा परेको छ । उपसभामुखले अध्यक्षता गर्दा आवश्यक बहुमत पुगेर विश्वासको मत पाउने गणितीय हिसाबमा अब त्यो सम्भव नदेखिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर सो बैठकको अध्यक्षता नगर्नेकै लागि बिरामी बिदा लिएर उपसभामुख काठमाडौं लागेकी छन् ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार सोमबार बिहानै एति एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार बेलुका नै काठमाडौं जान खोजेकी थिइन् । तर गाडीमा जान अलि असहज भएपछि सोमबारको पहिलो फ्लाइटमा गएकी थिइन् ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको सञ्चारकर्मीहरुलाई बताए । कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर उपसभामुख काठमाडौं गएको उनले जानकारी दिए ।

प्रदेशसभाका ९३ सांसदमध्ये गठबन्धनमा ४७ मात्र छन् । यो संख्या झिनो बहुमत हो तर कांग्रेस सांसद मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत लगभग नपाउने पक्का भएको छ ।

सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ ।

अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा पनि केही दिन बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएर बिदामा छिन् । अध्यक्ष मण्डलमा उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि हिजो नै अनुपस्थित हुने बताएका छन् । अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् ।

आजको बैठकमा अनुपस्थित हुन नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई निर्देशन दिएका छन् । दलको निर्देशनपछि एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन संसद सचिवालयमा बुझाएका छन् ।

कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ, जुन कठिन बहुमत हो । उनको विपक्षमा एमालेका उपसभामुखबाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको रणनीतिअनुसार जेष्ठ सदस्यहरुलाई बिदामा राखिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*