पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेज गर्ने र क्रमशः संघीयता भत्काउने तयारी गरेको भए त्यो ठूलो भुल हुने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नदुखेको कपाल डोरी लगाएर दुखाउनुको सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासतिरै केन्द्रित हुनु बुद्धिमानी हुने सुझाव दिएका छन् ।
उनले लेखेका छन् – ‘पहिलो त विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आमजनसमुदायबीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ ।’
उनले अगाडि लेखेका छन्, “दोस्रो, हाम्रो जस्तो जातीय–राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ, जुन कसैको पनि हितमा हुने छैन ।’


न्यूज समय
११ असार, २०८३, बिहीबार ००:००