काठमाडौं पानी पानी : खोलानालामा ठूलो बाढी
- २३ श्रावण, २०८०, मंगलवार ०५:०८
- मुख्य समाचार
- न्यूज समय
हिजो रातिदेखिको अविरल वर्षाले काठमाडौँ उपत्यका पानी पानी भएको छ । काठमाडौंसहित ललितपुर र भक्तपुरका खोलानालामा पानी भरिएका छन् । जताततै बाढी आएको छ । खोला किनारका बस्तीमा पानी पसेको छ । डुवानपछि हजारौं व्यक्तिको बसाइँमा समस्या आएको छ ।
वाग्मती विष्णुमति नदी किनारका लिंक रोडहरुसम्म पानी भरिएको छ । किनारका बस्तीका सबै घरमा पानी पस्दा खानबस्नै समस्या भएको देखिन्छ । विष्णुमती किनारमा राखिएको बल्खु तरकारी बजारमा पानी पसेको छ । पानीका कारण तरकारी डुबानमा परेको व्यापारले बताए ।
मध्य रातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको प्रहरीले जनाएको छ । गहिरो भूभाग पानी नजमेको कतै छैन ।
भारी वर्षापछि काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत डुबानमा परेको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ । यस्तै भक्तपुरको चाँगुनारायणमा एउटा घर भत्किएको छ । मनहरा क्षेत्रको किनार बस्ती डुबानमा परेको छ ।
काठमाडौँमा डुबानमा परेका क्षेत्रमा बिहानैदेखि प्रहरीसहित उद्धार टोली खटिएका छन् । बागमती, विष्णुमति र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ । प्रहरीले विभिन्न ठाउँमा माइकिङ गर्दै बिहान ११ बजेसम्म प्रभावित क्षेत्रकालाई सतर्कता गराएको छ । डुबान क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान भनेको छ ।
यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको हो ।
विष्णुमती, धोबीखोला, मनोहरालगायतका नदीहरुमा जलसतह अत्यधिक बढेको छ । बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेका छन् ।
उपत्यकाका नदीहरुमा जलसतह अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आमनागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरीले जनाएको छ ।