संसद चल्न नसक्दा जनताका आवाज रोकिए
- २२ श्रावण, २०८०, सोमबार १२:५६
- मुख्य समाचार
- न्यूज समय
संसद लामो समयदेखि अवरोध हुँदा जनताको आवाज रोकिएको प्रतिनिधसभाका सभामुख देवराज घिमिरे बताउनु भएको छ । चालू संसदको कारबाही हुन नसक्दा जनताका आवाज पनि रोकिएका छन् ।
माननीय सांसदहरुले यतिबेला प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषयबारे सदनलाई बताउन सक्नु भएको छैन,· सभामुख घिमिरेले भन्नुभयो, यो अवस्थाले जनताका समस्याको सम्बोधनसमेत हुन सक्दैन । नयाँ वानेश्वरस्थित सभामुख कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
बैठकपछि उहाँले भन्नुभयो, सदनको अवरोध खुलाउन मैले गरेको पहलमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र मैले पनि नेताहरु उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ ।
लामो समयदेखि अवरुद्ध संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सोमबार गम्भीरतापूर्वक छलफल गर्नुभएको छ । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्णनिष्कर्षमा भने पुग्न सक्नुभएन ।
यही विषयमा छलफल गर्न भन्दै सोमबार बिहानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ । सोमबार दिउँसो ३ बजेका लागि संसद बैठक बोलाइएको छ । त्यस अगावै दलहरुबीच सहमति हुनेमा सभामुखले आशा व्यक्त गर्नुभएको छ ।
‘सहमतिको विकल्प छैन,’ सभामुख घिमिरेले भन्नुभयो, संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन ।
आफूले पनि अधितकतम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उहाँले बताउनुभयो ।
‘म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ उहाँले भन्नुभयो, ‘यहीअनुरुप सूचना टाँसेर पटकपटक बैठक स्थगित गरेको पनि छु । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि सदनको नियमित कारबाही अघि बढ्ने छ ।’