किन भएन रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ ?
- २१ चैत्र, २०७९, मंगलवार ०९:४९
- मुख्य समाचार
- न्यूज समय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज सुनुवाइ भएन । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश सिन्हाले आफूले रिट हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
युवराज पौडेल सफलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् ।