१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

उपत्यकाको खानेपानीका लागि बैकल्पिक स्रोत कुलेखानीलाई बनाउने मन्त्री चौधरीको तयारी

काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या र मेलम्चीको पानी बर्षातका लागि काठमाडौं उपत्यका ल्याउन असहज हुने शंका बढ्पछि खानेपानी मन्त्री उमाकान्त चौधरी काठमाडौं उपत्यकामा खानेपानी ल्याउने बैकल्पिक स्रोतको खोजमा जुटेका छन् । मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं पठाउने सरकारी योजनाको कार्यान्वयन गरि वैकल्पिक स्रोतको खोजीमा मन्त्री चौधरी जुटेका छन् ।

कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ दैनिक ६ देखि ७ करोड लिटर पानी लैजान सकिने मन्त्री चौधरीको भनाई छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिवबिक्रम राणाले सिस्नेरी खोलामा निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाईन विस्तार गर्न काठमाडौं – तराई – मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने भएकाले काठमाडौंमा कुलेखानीको खानेपानी छिट्टै काठमाडौ पुग्ने बताए ।

काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । बागमति नदीभन्दा करिव २ सय मिटर नजिक सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाई ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए ।

बाँधस्थलमा जम्मा भएको पानीलाई करिव २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाईने उनले बताए । प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन दू्रतमार्गमा करिव १९ किलोमिटर उत्तरतर्फ पाईपलाईन विच्छ्याई ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाईमा रहेको सैंबु पानीपोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ ।

बाँध निर्माण गर्ने स्थलले ८२ बर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ । दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिव २६ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन करिव ६ वर्ष लाग्ने अनुमान छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन् । आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए । आयोजनाको बाँध मात्र निर्माण गर्न करिव १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि १ अबै र पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिव ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*