निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनको चाँडो मिति तोक्न सरकारलाई आग्रह
निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार हस्ताक्षरित जारी विज्ञप्तिमा निर्वाचनको मिति तोक्न ढिला गर्दा व्यवस्थापनमा समस्या पर्ने भन्दै चाँडो मिति तोक्न आग्रह गरिएको छ ।
आयोगले गएको कात्तिकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए १४ र २२ गते गर्ने गरी मिति तोक्न सुझाई सकेको छ ।
निर्वाचनका लागि मिति तोक्न पटक पटक ताकेता गर्दै आएको आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार पहिलो चरणमा भएको निर्वाचनको मितिलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताएको छ ।
आयोगले यस अघि २०७४ सालमा वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण गरी तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको थियो ।
न्यूज समय
११ माघ, २०७८, मंगलबार ००:००