१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

भागरथीको बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ, आज सार्वजानिक गर्ने तयारी

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई आज सार्वजनिक गर्ने तयारी छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् ।

‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले नयाँ पत्रिकासँग भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आफै संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’ घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*