देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसम प्रभावित भएको हो ।
अहिले प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।
शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ ।
प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैगरि राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबिच देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
न्यूज समय
३ माघ, २०७७, शनिबार ००:००