१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

भत्काउन थालियो छाउगोठ, केहि स्थानीय कुल देउता रिसाउने भन्दै चिन्तित

काठमाडौं । सुदुरपश्चिमका पहाडी जिल्लामा रहेको छाउ प्रथा निरुत्साहित गर्न सरकारले छाउगोठ भत्काउने अभियान थालेको छ ।
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त पहलमा जिल्लाको पश्चिम क्षेत्रका विभिन्न पालिकामा रहेका ९३ वटा छाउगोठ भत्काएको छ ।
पश्चिम दैलेखमा बढी प्रचलनमा रहेको छाउप्रथा निरुत्साहित गर्न सरकारले छाउगोठ भत्काउने अभियान थालेको हो । अभियान अन्तर्गत आठबिस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा रहेका ९३ छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रीले जानकारी दिए ।
सहायक प्रजिअ क्षेत्री र प्रहरी इन्स्पेक्टर उपेन्द्र आचार्यको नेतृत्वमा रहेको संयुक्त टोलीले गत आइतबार विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । संयुक्त टोलीले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेसँगै सोमबारबाट छाउगोठ भत्काउने अभियान थालेको हो । सहायक प्रजिअ क्षेत्रीका अनुसार आठबिसमा २०, चामुण्डा बिन्द्रासैनीमा ४६ र अन्य पालिकामा २७ वटा छाउगोठ भत्काइएको छ ।
सोमबार र मंगलबार दुई दिनमा संयुक्त टोलीले ९३ छाउगोठ भत्काएको जिल्ला प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छाउगोठ भत्काएपछि पनि कतिपय महिला गाई वा भैंसी गोठमा बस्ने गरेको भन्ने जानकारी प्राप्त भएकाले यसको पनि पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
जिल्ला प्रशासन र प्रहरीले अभियान नै सञ्चालन गरेर छाउगोठ भत्काएपछि केही स्थानीयले भने कुल देउता रिसाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । दैलेखमा छाउ बारेन भने कुल देउता रिसाउने अन्धविश्वास छ । अधिकांश मानिसले धामी झाँक्रीलाई विश्वास गर्ने भएकाले पनि पश्चिम दैलेखमा छाउ बार्ने चलन बिकराल समस्याका रूपमा रहेको छ ।
श्रोत : नयाँ पत्रिका

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*