आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने सरकारको लक्ष्य : मन्त्री खड्का

न्यूज समय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित ऊर्जा ट्रान्समिसन तथा न्यून कार्बन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले विकास निर्माण गर्दा जोखिम न्यूनीकरण गर्ने हिसाबले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताए।

उनले प्रत्येक घरमा एक वर्षभित्र विद्युतीकरण सरकारले गरिसक्ने लक्ष्य रहेको बताए। उनले सरकारले प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई बढाई आगामी १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पुर्‍याउने बताए। उनले सरकारले वातावरणीय प्रभाव न्यूनीकरणका विषयलाई पनि सँगै लिएर हिँडेको बताए। उनले सन् २०४५ सम्म शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताए।

उनले जलविद्युत् उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्ने प्रतिबद्धता जनाए। उनले लगानीकर्ताले गर्ने जलविद्युत् उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने उल्लेख गरे। उनले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताए।