चलचित्रमा लगानी गर्दै ठूला व्यापारिक घराना, चलचित्र ‘परान’मा लगानी गर्दै शेखर गोल्छा

न्यूज समय

काठमाडौं । नेपाली चलचित्र उद्योगमा ठूला व्यापारिक घरानाहरु पनि आकर्षित हुन थालेका छन् । नेपालको ठूलो व्यापारिक घरना गोल्छा अर्गनाईजेशनले चलचित्र उद्योगमा लगानी गर्ने भएको छ । लामो समयदेखि हास्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘काकु’को भूमिकामा अभिनय गर्दै आएका दीपक आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘परान’मा गोल्छा अर्गनाइजेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले लगानी गर्न लागेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहिसकेका गोल्छाको चलचित्र क्षेत्रमा पहिलो लगानी हुनेछ । चलचित्र निर्माणमा शेखरलाई रञ्जीत आचार्यले सघाउने बताइएको छ । निर्देशक आचार्यले चलचित्र विकास बोर्डमा ‘परान’ शीर्षक दर्ता गर्दै फिल्म निर्माणको इजाजत लिइसकेका छन् । यो फिल्मको बुधबार औपचारिक रुपमा घोषणा हुँदैछ । 

यो चलचित्रका लागि निर्देशक आचार्यले फिल्ममा कलाकारको लाइनअप लगभग पूरा गरिसकेका छन् । नीर शाह, प्रवीण खतिवडा, अञ्जना बराइली, महेश त्रिपाठीको फिल्ममा अभिनय रहने निश्चित भइसकेको जनाइएको छ । बायस्कोप सिनेमाको ब्यानरमा बन्न लागेको फिल्मले बाबु–छोरीको भावनात्मक सम्बन्धको कथा बन्नेछ । फिल्मको छायांकन यसै वर्ष हुने बताइएको छ ।