‘समाजवादी मोर्चा सत्तालाई टिकाउनका लागि मात्रै नहोस्’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, अमिलो मन पारेर मोर्चा गठनको कार्यक्रममा यसरी शुभकामना दिँदै हुनुहुन्थ्यो ।
यसको मतलव यो खेल सत्ता टिकाउने प्रपञ्चभन्दा बाहिर छैन । उहाँलेले समाजवादी मोर्चा सिंगो वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहिलो पाइला हुनुपर्ने आकांक्षा पनि राख्नु भयो । तर उहाँकै पार्टीका धेरै सांसददेखि नेता कार्यकर्ता माउपार्टी नेकपा एमालेमा भित्रिन खुट्टा उचालेर बसेका छन् । यो भेउ उहाँ सम्मानित नेतालाई राम्रै छ ।
त्यसो त घोषणा सभाका प्रमुख वक्ता मुलुकका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले समाजवादी मोर्चा उपलब्धि उल्ट्याउन खोज्नेकाविरुद्ध युद्धको घोषणा हो भन्नसमेत भ्याउनु भयो । उहाँको भाषणको रफ्तारलाई ध्यान दिँदा मोर्चा गठनको आवश्यकता ८८ सिटे सत्ता साझेदार नेपाली कांग्रेस र ७९ सिटे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई साइजमा ल्याउनु नै हो ।
तर समाजवादी मोर्चा गठनमै यो सम्भव देखिन्न । हुन त असार ४ गते सोमबार संसदमा प्रतिनिधित्व गर्ने ३२ सिटे नेकपा माओवादी केन्द्र, १२ सिटे जनता समाजवादी पार्टी, १० सिटे नेकपा एकीकृत समाजवादी र संसदमा प्रतिनिधित्व नगरेको नेकपा माओवादीको मोर्चा भएको छ । यो सबै संख्या जोड्दा संसदमा मोर्चाको ५२ सिट हुन्छ । तर यो संख्या सरकार बनाउन पर्याप्त भने होइन ।
ठूला नेताहरु मोर्चामा समेटिए पनि कार्यकर्तास्तरमा यसले कुनै उत्सुकता देखाएको छैन । बरु मोर्चाको परिकल्पनाकार भनिएका बाबुराम भट्टराईलाई स्थान दिइएन । बाबुरामलाई स्थान दिए उपेन्द्र यादव बिच्किने डरले पुष्पकमल दाहालले भट्टराईलाई छाडेर अघि बढेका हुन् ।
यो मोर्चाका कारण सत्ता मजबुत हुने दाहालको बुझाइ भए पनि पछिल्लो घटना क्रमले यही कारण सत्ताविमुख हुनुपर्ने अवस्था देखिएको छ । तर समयलाई केही दिन कुर्नुपर्ने हुन्छ ।
न्यूज समय
४ असार, २०८०, सोमबार ००:००