पत्रकारहरूबाट निष्पक्ष र तथ्यपूर्ण रिपोर्टिङको अपेक्षा छ : महानिरीक्षक कार्की

न्यूज समय

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । शनिबार सामाजिक फेसबुक मार्फत उनले यस्तो बताएका हुन् ।

विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको भोलिपल्ट उनले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ रहेको समेत बताएका छन्।

फेसबुकमा कार्कीले लेखेका छन् –‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ । साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’

उनले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्यको आग्रह गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको महत्त्वपूर्ण भूमिकाहुने पनि बताएका छन्।