राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनिबोट–लुहाम सडकखण्ड सञ्चालनमा

न्यूज समय

अविरल बर्षाका कारण अवरुद्ध राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनिबोट–लुहाम सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन दाङका अनुसार उक्त सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाईएका कारण सवारी साधन आवागमन गर्न सक्ने अवस्थामा आएको हो ।

डिभिजनको लगातारको प्रयास पछि पहिरोले अवरुद्ध सडकमा अत्यावश्यक सवारी साधन आवागम गर्न सक्ने अवस्थामा आएको डिभिजन दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।

त्यस्तै तुलसीपुर–कालिमाटी–काल्चे–सुर्खेत सडकखण्डको हापुरे–कालिमाटी सडकखण्डमा पनि पहिरो हटाई अवरुद्ध सडक खोलिएको छ ।
पहिरो हटाई सडक खोलिएको भए पनि अझै जोखिम कायमै रहेकोले आवश्यक यथेष्ट जानकारी प्राप्त गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा तय गर्न पनि सवैलाई आग्रह गरिएको डिभिजन प्रमुख विष्टले बताए ।

प्रमुख विष्टले यात्रा गर्दा जिल्ला प्रशासन कार्यालयको सूचना र मौसमको जानकारी अध्यावधिक गरी यात्रा गर्न पनि सवैमा आग्रह गरे ।