पेट्रोलियम पदार्थ चोरी गर्दै गरेका दुई ट्याङ्कर प्रहरी नियन्त्रणमा

न्यूज समय

पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्करलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट ल्याईएको पेट्रोलियम पदार्थ भैरहवास्थित सराफ आयल सेन्टरमा रोकेर निकालिरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रण्मा लिएकाहरुको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।