वैदेशिक रोजगारीमा पठाईदिने भन्दै प्रलोभन देखाई ठगी गर्ने ४ जना पक्राउ

न्यूज समय

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारी रहेको उपत्यका अपराध अनुसान्धान कार्यालयले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनिहरुले आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जनाएको छ ।