रातो नदीको तटबन्ध भत्किदा महोत्तरीमा झण्डै २ हजार हेक्टर धानबाली नष्ट

न्यूज समय

ढिलो बर्षाका भई ढिलै रोपाईं गरेका कारण धान कम उत्पादन हुने चिन्तामा रहेका महोत्तरीका किसानलाई फेरी अर्को बज्रपात परेको छ ।

गएको आईतबार महोत्तरीको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले जिल्लाका विभिन्न क्षेत्रका लागाईएको धानबालीमा ठुलो क्षेति पुर्याएको छ ।

बाढीले जिल्ला स्थीत ९ पालिकाका रोपाईं भएका झण्डै २ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानबाली नष्ट भएको स्थानीय जनप्रतिनिधीहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त विवरणअनुसार बाढीले झण्डै २ हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको बताए ।

यादवका अनुसार महोत्तरी गाउँपालिकामा सबैभन्दा बढी ६०० हेक्टर, बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी नगरपालिकामा ३०० हेक्टर, एकडारा गाउँपालिकामा ३०० हेक्टर, लोहारपट्टी नगरपालिकामा १०० हेक्टर धानबाली नष्ट भएको छ ।

त्यस्तै भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी एक हजार ९३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको छ ।

त्यस्तै बाढीले ती पालिका एक हजार २९० हेक्टर उखुबाली, ६३६ हेक्टर तरकारी बाली र १५३ हेक्टर क्षेत्रफलमा लगाइएको दलहन बाली पनि नष्ट भएको ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।

नदीको तटवन्धन भत्कदा आएको बाढीले अन्य स्थानका धान, उखुलगाएतका नगदे बालीको क्षेतिको विवरण अझै आईनसकेको पनि प्रमुख यादवले जनकारी दिए । क्षेतिको सम्पूर्ण विवरण संकलन भए पछि मन्त्रालयमा पठाउने पनि यादवले बताए ।

गत आईतवार र सोमबारको अविरल बर्षा संगै रातो नदीको बाढीले महोत्तरी गाउँपालिका, एकडाँडा गाउँपालिका, जलेश्वर नगरपालिका लगाएतका स्थानका तटवन्धन भत्काएर स्थानीय कृषको धानबाली तथा बस्तीमा समेत पसेको थियो ।