नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । युएई र नेपालबीच आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवर्द्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरू गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले तीसभन्दा बढी कानूनहरू संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताहरूका लागि यो समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राखे । उनले जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राखे । युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नेपालको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।
यस्तै अध्यक्ष ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीहरूलाई लक्षित गर्दै वित्तीय सेवाहरू, तालिम केन्द्रहरू र सीप विकासमा लगानी गर्न आग्रह गरे । महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उनले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्य र भविष्यमा संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना रहेको बताए ।
न्यूज समय
२ श्रावण, २०८२, शुक्रबार ००:००