वैशाख शुक्ल नवमी अर्थात् सीता जयन्ती। उनीप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीको एक महिनामा सीता जयन्ती पर्ने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीताको उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ। उनै रामसँग सीताको विवाह भएको थियो।
पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ। सीताको जीवन निकै संघर्षपूर्ण रहेको वाल्मीकिकृत् रामायणमा उल्लेख छ। पिताको आज्ञासँगै राम १४ वर्षको वनबास जाँदा उनी पनि सँगै थिइन्। यस क्रममा उनलाई लंकाका राजा रावणले हरण गर्यो। लामो समयपछि रावणसँग युद्ध गरी रामले सीतालाई ल्याए। पछि अयोध्या फर्केर राम राजा भए। तर लोकनिन्दाका कारण रामले सीतालाई त्यागे। सीता वनमा गएर बसिन्। त्यहाीँ उनले दुई छोरा लव र कुशलाई जन्म दिइन्। पुनः दरबारमा बोलाइएकी उनीमाथि लोकले फेरि प्रश्न उठाएपछि अन्त्यमा धर्तीमै लुप्त भएको बताइन्छ।
सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्छ। यसै अवसरमा मंगलबार बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिए। गोकर्णेश्वर नगरपालिका– २ भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।
न्यूज समय
२३ बैशाख, २०८२, मंगलबार ००:००