सडक सञ्चालन भएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

न्यूज समय


हिमाली जिल्ला मनाङमा नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । सडकमार्गको ट्रयाक खोलेको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गर्न थालिएको हो । १५ वर्षअघिदेखि मनाङसम्म मोटर चल्न थालेपनि बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए ।

बेसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडकमा अब बसबाट पनि यात्रा गर्न सकिने भएको छ । बेसीसहरबाट चामेसम्मको भाडादर ७ सय ४० कायम गरिएको छ । यस सडक अन्तर्गत बेसीसहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे। सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए।

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको बताए । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए।

गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । बस संचालक सुरेश घिमिरेले अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने बताए ।