सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत घातक चित्र राख्ने निर्णय पुनरावलोकन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आग्रह

न्यूज समय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।

उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल पछि मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय संग त्यस्तो आग्रह गरेको हो ।

उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सका अनुसार हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गरिएको बताए ।

आगामी साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने निर्णय गरेको थियो ।

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको मन्त्रालयले जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । जस मध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।