नेपालमा राजतन्त्र फर्कदैन : माओवादी अध्यक्ष प्रचण्ड

न्यूज समय

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् ।
तराई मधेश जागरण हुलाकी मार्ग अभियान अन्तर्गत टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा राजतन्त्र नर्फकने बताएका हुन् ।

राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसकेकोले अब नेपालमा राजतन्त्र फर्कने कल्पना नगर्न आग्रह गरे ।

बेला मौकामा संविधान कुल्चेर राजा महाराजा कहाँ सत्ता लिन सकिन्छ कि तानाशाहीतिर जान सकिन्छ भनेर कोसिस गर्नेहरुलाई सम्झाउँदै अध्यक्ष प्रचण्डले अब इतिहास फर्किंदैन त्यसैले त्यस तफै कसैले पनि कुचेष्ठा नगर्न सुझाए ।

चैत १५ गते काठमाडौँमा गरेको प्रदर्शन संगै राजावादीहरूले हत्या, हिंसा, आगजनी गरेर बितण्डा मच्चाएको र असफल भएर झनै पतनको बाटोमा गएको बताए ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी जगैबाट देशको अर्थतन्त्र राम्रो बनाउन लागेको भन्दै वैधानिक संस्थाहरूले गरेका मूल्याङ्कनले राम्रो काम गर्ने पहिलो, दोस्रो, तेस्रो भएका पालिका र महानगरपालिकामा बर्सेनि पहिलो हुने महानगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले जितेको स्मरण गराए ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्निप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, खगराज भट्ट लगायत नेताहरु पनि सहभागी भएका छन् ।