सरकारको गतिविधिकै कारण नेपाल एफएटीएफको ग्रे लिष्टमा : अर्थविद् डा. कार्की

न्यूज समय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा. रेवतबहादुर कार्कीले सरकारको गतिविधिकै कारण ने फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्ट मा राखेको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा डा कार्कीले बर्तमान सरकारले पनि कुनै सुधारको काम गर्न नसकेको बताए ।

उनले अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो बनिरहेको टिप्पणी गरे । उनले भने–‘अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो पनि भइराखेको छ । कुनै सुधारहरु छैन, आफ्नो मान्छेलाई कारबाही नहुने, अरुलाई कारबाही हुने, ‘रुल अफ ल’ को मतलब नै नहुने, यो सरकार बनेको पनि सात\आठ महिना भइसक्यो, अहिलेसम्म सम्पति सार्वजनिक भएको छैन ।’

उनले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए । अहिले नेपालको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । डा. कार्कीका अनुसार अहिले नेपालमा राजश्वकको स्थिति डामाडोल रहेको, खर्च घटाउन नसकिएको र ठूलो नीतिगत अस्थिरता रहेको, लगानीको वातावरण नरहेको अवस्था छ ।