काठमाडौँ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन राज्यमन्त्री मुराइखीसँग आग्रह गरेकी छन् । ओमनको मस्कटमाकतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले ओमनको शिष्टाचार भेटवार्तामा उनले सो आग्रह गरेकी हुन् ।
मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बिचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् । केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबिचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
भेटका क्रममा उनीहरूबिच नेपाल र कतारको सम्बन्ध, द्विपक्षीय हित र पारस्परिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो ।
न्यूज समय
४ फाल्गुन, २०८१, आईतबार ००:००