काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको दुई विधेयक स्थगन गर्न माग गरेको छ । कर्मचारी संघले नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक,२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधयेक,२०८१ लाई तत्काल स्थगनको माग गरेको हो ।
संघ अध्यक्ष गणेश प्रसाद भुसालले आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई ज्ञापनपत्र बुझाउदै दुई विधेयक स्थगन गर्न माग गरेको बताए । विधेयक सरोकारवाला,वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरु सँग कुनै छलफल नै नगरी प्राधिकरणलाई विभाजन गरी स्वार्थ समूह हावी गराउन ल्याइएको भन्दै विधेयक स्थगतन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो विधेयकले हवाई उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने र स्वार्थ समुहले प्राधिकरण धरासायी बन्ने कर्मचारीहरुको भनाइ छ । नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला,वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरुलाई वेवास्ता गरी कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघले निष्कर्ष निकालेको छ ।
न्यूज समय
२९ माघ, २०८१, मंगलबार ००:००