राष्ट्रपति पौडेलको सन्देश : श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव बढाउँछ
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै यस पर्वले बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्ने जनाउनु भएको छ । यसअवसरमा आपसी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्ने अपेक्षा राष्ट्रपतिले लिएका छन् ।
भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनमा मनाइने जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बाबुआमा, दिदीबहिनी तथा दाजुभाइ सबैमा राष्ट्रपति पौडेलले सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी मानव समुदायलाई सत्कर्ममा प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’
विश्वभर हिन्दू धर्मावलम्बीले भक्ति योग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गर्दै श्रद्धा भक्तिपूर्वक जन्माष्टमी पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ ।
विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको भगवान् श्रीकृष्णको महिमायुक्त गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको छ ।