२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

राष्ट्रपतिद्वारा गौराको शुभकामना

भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भाव प्रगाढ बन्ने विश्वास

सुदूर पश्चिम प्रदेशको चर्चित पर्व गौराका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिनु भएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने जन विश्वास रहेको पनि राष्ट्रपतिले शुभकामनामा व्यक्त गर्नु भएको छ ।

शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गर्ने यो पर्वमा प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताइएको छ ।

गौरामा स्थानीय बासिन्दा गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास पनि गरिएको सन्देशमा राष्ट्रपतिले गरेका छन् ।

समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको सन्देशमा बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*