ओल्केमा सुदूरपश्चिम प्रदेश बिदा : मान्यजनलाई कर्कलो उपहार
आज भदौ १ गते सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । प्रदेशकै महत्त्वपूर्ण पर्व ओल्के आज हर्षोल्लाससाथ मनाइँदै छ । यसका लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
यस पर्वको खास अर्थ आफूभन्दा ठूला मान्यजनको सम्मान गर्नु हो । ओल्केमा आफूभन्दा ठूलो र सम्मानित व्यक्तिको घरघरमै पुगेर सगुनसहित उपहार दिइन्छ ।
पर्वमा प्रदेशका सबैजसो जिल्लाका बस्तीहरुमा आफ्ना मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको गुँबो, फलफूल, मिठाईसहित दिने र दर्शन गर्ने चलन छ । यस्तै घरपरिवारमा पनि मीठो मसिनो खाने, हातखुट्टामा मेहेन्दी लगाएर पर्व मनाउने यसको विशेषता हो ।
ओल्केका दिन विवाहित छोरीचेलीलाई जन्मघर बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीजस्ता मिष्टान्न परिकार खुवाइन्छ । वर्षाभरि काम गरेरको थकान छोरीचेलीले पनि माइती गएर मेट्छन् ।
ओल्कैसँगै सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि चल्दै आएको छ । गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएका मानिसहरुले रूख बिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै बूढी हाल्ने गर्छन् ।
साँझको समयमा टोलबस्तीको सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । यसो गर्दा गाउँमा अनिष्ट नआउने लोक विश्वास कायमै छ ।