फेरि डिप्लोमा तहलाई तीन वर्षमा झार्दै त्रिभुवन विश्वविद्यालय

न्यूज समय

त्रिभुवन विश्वविद्यालयले चारवर्षे स्नातकलाई फेरि तीन वर्षमा झार्ने गृहकार्य गरेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले चार वर्ष हुँदा विद्यार्थी पढ्न नआउने भएकाले तीन वर्षमा झार्ने विषयमा अनौपचारिक छलफल चलेको तर निर्णय भइनसकेको बताए । अर्को शैक्षिक सत्रबाट तीन वर्षमा झार्नुपर्ने जोशीको तर्क छ । उनले भने– ‘अर्को सेसनदेखि घटाउनुपर्छ । भारतमा पनि तीन वर्ष छ । उता तीन वर्ष पढेर आएको र यता चार वर्ष पढेकोले पनि मास्टर्स पढ्न पाउने भयो ।’

गत १४ असारमा विश्वविद्यालयको प्राज्ञिक समितिको बैठकमा डीनहरूले पनि तीन वर्षमा झार्नुपर्ने सुझाव राखेका थिए । राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगमा पनि तीन वर्षमा झार्ने विषयमा छलफल भइरहेको त्रिविका अधिकारीहरू बताएका छन् ।

तर, अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा देवराज अधिकारी त्रिविले चारवर्षे स्नातकलाई व्यवस्थापन गर्न नसकेको बताए । उनले भने– ‘विद्यार्थीको भर्ना घटेको होइन । ड्रप आउट भएको हो । त्रिविले समयमा परीक्षा र नतिजा निकाल्न सकेन । जुन उद्देश्यले चार वर्ष बनाएको थियो, त्योअनुसार त्रिविले व्यवस्थापन गर्न सकेन ।’ चारवर्षे कोर्सलाई ६ वर्ष लगाएका कारण समस्या आएको डा अधिकारीको तर्क छ । उनले भने– ‘क्यालेन्डरअनुसार काम भएन । जति वर्षको डिग्री हो, त्यति वर्षमा सर्टिफिकेट पाउनुपर्ने हो तर भएन,’ उनले भने । तीन वर्षमा झर्दा पनि समस्या उस्तै रहने आशंका गर्छन् उनी । ‘तीन वर्षमा ल्याउँदा नतिजा आउन ४ वर्ष लाग्यो भने त्यसको के अर्थ भयो ।’

अन्तर्राष्ट्रियस्तरको बनाउन भन्दै त्रिविले २०७१– ७२ देखि व्यवस्थापन संकायबाट स्नताकलाई चारवर्षे बनाएको थियो । मानविकी तथा सामाजिकशास्त्र संकायमा चार वर्ष लागू भएपछि भर्ना भएका विद्यार्थी तेस्रो वर्षमा अध्ययनरत छन् । एउटा ब्याचका विद्यार्थीको अन्तिम नतिजा नआउँदै फेरि तीन वर्षमा झार्न लागिएको हो । मानविकी संकायमा २०७८ सालमा १३ हजारले परीक्षाका लागि फाराम भरेका थिए । तर, तेस्रो वर्षको परीक्षामा ९ हजारले मात्र फारम भरेका छन् ।