यर्थाथ बंग्याएर राष्ट्रपति पौडेलको उपचारबारे अर्नगल प्रचार
छातीमा इन्फेक्सन देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अहिले भारतमा उपचार गराइरहेका छन् । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । तर अहिले गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरु राष्ट्रपति विदेश उपचारका लागि गएको भन्दै सामाजिक संजाल तथा केहि संचारमाध्यामको दुरुपयोग गरेर विरोध गरीरहेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा तीनपल्ट भर्ना भएर उपचार गराउँदा पनि स्वास्थ्य अवस्था सहज नभएपछि राष्ट्रपतिलाई चिकित्सकको सुझावका आधारमा दिल्ली लगिएको थियो । राष्ट्रपति पौडेलले विदेशमा उपचार गर्न जान नमानेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले नै स्पष्ट पारिसकेका छन् ।
गत बुधवार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहालले भनेका थिए– ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । हामीले पनि छलफल गरियो । राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ । डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो ।’
चिकित्सकको सुझावले पनि राष्ट्रपति पौडेल विदेश उपचारका लागि जान नमाने पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमै आएर उहाँलाई उपचारका लागि भारत जान अनुरोध गरेका थिए ।
उनको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्यले दिएको जानकारीअनुसार छातीको इन्फेक्सनका कारण लगातार एन्टिबायोटिक चलाउँदा पनि ठिक नभएपछि भारत जान सुझाव दिइएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनुअघि पनि पौडेलको भारतको सोही अस्पतालमा छाती देखाउने गराउनुभएको थिए । राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले अहिले जसरी राष्ट्रपतिज्यूको उपचारलाई लिएर प्रचार भएको छ त्यस्तो अवस्था नभएको बताए । उनले भने– ‘चिकित्सकको सुझावका आधारमा उहाँलाई उपचारका लागि दिल्ली लगिएको हो । बाहिर आएका अनर्गल प्रचारको पछि नलाग्न म सबैसँग अनुरोध गर्दछु ।’
सल्लाहकार पोखरेलले राष्ट्रपतिको उपचार र परिवारको सदस्यहरुले भत्ता लिएको जस्ता अर्नगल विषयमा प्रचार गरिएको भन्दै दुख व्यक्त गर्नुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति पारिश्रमिकसम्बन्धी ऐनमै पनि उपचारका लागि जाँदा भत्ताको व्यवस्था नभएको र परिवारको कुनै पनि दबाब नरहेको उनको भनाइ छ । पोखरेलले भने–‘उपचारका विषयमा अनर्गल प्रचार गरिएको छ । जनतालाई दिग्भ्रमित गर्ने काम दुखद् छ । राष्ट्रपति पदलाई नागरिकमैत्री बनाउनुपर्छ भन्ने प्रमाणित गर्ने काम उहाँले थालिसक्नुभएको छ । लोकतन्त्रमा कुनै पनि विषयको रचनात्मक आलोचना गर्न पाइन्छ । तर दिग्भ्रमित गर्न पाइँदैन ।’
के छ त ऐनको व्यवस्था ?
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको उपचारका लागि विदेश भ्रमण र उपचारका लागि विदेश भ्रमण अलग अलग व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा उपचार खर्च सम्बन्धी व्यवस्था छ । त्यस्तै विदेश भ्रमण सम्बन्धी व्यवस्था दफा ११मा उल्लेख छ ।
दफा ९. उपचार खर्च
(१) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा
वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार
गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने
भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध
गराउनेछ ।
(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी
गर्नेछ ।
दफा ११. दैनिक भत्ता तथा भ्रमण खर्च
(१) राष्ट्रपति वा उपराष्ट्रपति आफ्नो ओहोदा सम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची–२ मा उल्लेख भए भए बमोजिम दैनिक भत्ता पाउने छन् ।