एक महिने श्री स्वास्थानी व्रत कथा समापन
एक महिने श्री स्वस्थानी व्रत कथा समापन गरिएको छ ।
पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमाका दिन सम्म चल्ने यो व्रत कथा सोमबार पवित्र जलाशय रहेको स्थानमा फूलपाती विसर्जन गरेर समापन गरिएको हो ।
वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिई यो ब्रत समापन गर्ने गर्दछन् ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने स्वास्थानी व्रत कथाको विधि रहेको छ ।
पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
व्रतपछि विछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको उल्लेख छ ।
त्यस्तै काठमडौ उपत्यकाको पूर्वी भेग स्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि सोमबार बिहान स्नानलगायत कर्म गरी समापन गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।