नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनका विरुद्धमा आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले यस अघि संघ तथा प्रदेश निर्वाचन क्षेत्र, वडा, गाउ नगरपालिका स्तरमा विरोध प्रदर्शन गरिसकेको छ । त्यसै गरि भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको संयोजनमा समेत जिल्ला जिल्लामा प्रदर्शन गरेपछि आज पार्टीको आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
आजको विरोध प्रदर्शनमा सहभागि हुनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु विभिन्न जिल्लामा जाने भएका छन् ।
जसअनुसार सोमवारको प्रदर्शनमा सहभागि हुनका लागि सभापति देउवा रुपन्देही जाने कार्यक्रम तय भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाने तय भएको छ । त्यसैगरि महामन्त्री डा शशांक कोइरालाले दाङको प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंह कास्की जिल्ला कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाको विरोध सभालाई सम्बोधन गर्नेछन् । त्यसैगरि पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले काठमाडौंको कार्यक्रम, पूर्व सहमहामन्त्री डा रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर जिल्ला कार्यसमितिले लगनखेलमा आयोजना गरेको कार्यक्रममलाई सम्बोधन गर्नेछन् ।
नेता डा मिनेन्द्र रिजालले प्यूठान, गगन थापा र सरिता प्रसाइँले चितवन र प्रदीप पौडेलले दैलेखमा हुने विरोधसभा पछिको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।भक्तपुरमा हुने विरोध सभालाई केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीले ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य एनपी साउदले दार्चुला, केन्द्रीय सदस्य गोविन्द भट्टराईले रौतहट, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना ओखलढुंगा,मेश लेखकले बैतडी,कल्याण गुरुङले रोल्पा र मोहनबहादुर बस्नेतले धनगढीको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
न्यूज समय
३ फाल्गुन, २०७७, सोमबार ००:००