निर्वाचन आयोगले आज नेकपाको दुवै समूहसँग छलफल गर्दैछ। आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बोलाएको हो। आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल–नेपाल पक्षका नेता लिलामणि पोखरेलले जानकारी दिए।
पार्टी विवादको विषयमा छलफल गर्नलाई आयोगले बोलाएको होइन ? भन्ने प्रश्नमा पोखरेलले त्यसबारे आफूहरुलाई स्पष्ट नपारिएको र शुक्रबार आयोगमा गएपछि थाहा हुने बताए। यता ओली पक्षका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताए।
आयोगले बिहान साढे ११ बजे दुवै समूहबाट पाँच-पाँच जनालाई छलफलका लागि बोलाएको हो। आयोगले पठाएको पत्रमा मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्ने उल्लेख भए पनि नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे पनि छलफल हुने बताइएको छ।
न्यूज समय
१६ माघ, २०७७, शुक्रबार ००:००