१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कृषि प्रधान देश तर अन्न उत्पादन भने चिन्ताजनक बन्दै ।

काठमाडौं । कृषि प्रधान देशको रुपमा परिचित नेपालमा अन्न उत्पादन दिन प्रतिदिन ओरालो लाग्दै गएको छ । २०७६/०७७ मा प्रमुख उत्पादनको रुपमा चिनिएको धानको उत्पादनको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो । नेपालमा आर्थिक बर्ष २०७५/०७६ को तुलनामा यस वर्ष १.०५ प्रतिशतले धानको उत्पादनमा कमी आएको छ । यो वर्ष ५९ हजार टन कम धान फलेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा उत्पादन भएको धानको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
सरकारले तोकेको मध्यम धानको समर्थन मूल्यअनुसार यो वर्ष एक खर्ब ४८ अर्ब ३८ करोड ३८ लाख ५० हजार मूल्यको धान उत्पादन भएको छ । मध्यम जातको धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ६ सय ७३ रुपैयाँ १६ पैसा छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा धानको योगदान करिब ८ प्रतिशत हाराहारी छ ।

धान उत्पादनले अर्थतन्त्रका सूचकमा ठूलो परिवर्तन आउँछ । जुन वर्ष धानको उत्पादन घट्छ, त्यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) खुम्चिन्छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ । धान उत्पादनमा वृद्धि हुँदा अर्थतन्त्र बलियो देखिन्छ ।

तथ्यांकअनुसार २०७५र०७६ को तुलनामा चालु वर्षमा १.०५ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । गत वर्ष धानको उत्पादन ५६ लाख १० हजार टन थियो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार यो वर्ष ५९ हजार टन धान धान उत्पादन घटेको हो । यो वर्ष २.२० प्रतिशत कम हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष १४ लाख ५८ हजार नौ सय १५ हेक्टरमा रोपाइँ भएको थियो।

‘उत्पादन अंक गत वर्षको तुलनामा सामान्य कमी देखिए पनि दोस्रो सर्वा्धिक उत्पादन भएको वर्षको रूपमा छ’, केसीले भने, ‘यस्तै उत्पादकत्वको हिसाबमा यो वर्ष सबैभन्दा उच्च परिमाणमा वृद्धि भएको छ” । धान उत्पादनमा कमी आउनुको कारण रासायनिक मलको उपलब्धतामा अभाव, उन्नत बीउ र सिँचाइको कमी, बाढी, खडेरी र नक्कली बीउको प्रयोगलाई प्रमुख रूपमा औल्याइएको छ । यसका साथ कृषिबाट युवा पुस्ताको पलायन र कृषि योग्य क्षेत्रफल घडेरीमा परिवर्तन हुनु पनि कारक तत्वको रूपमा रहेको छ ।
पछिल्लो पाँच वर्षको धानको उत्पादन विश्लेषण गर्दा २०७२र०७३ को तुलनामा यो वर्ष करिब २१ प्रतिशतले उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार उत्पादकत्व वृद्धि भएर यो वर्ष प्रतिहेक्टरमा तीन हजार आठ सय चार किलो धान फलेको छ । २०७२र०७३ मा प्रतिहेक्टरमा तीन हजार एक सय ५४ किलो धानको उत्पादकत्व थियो ।
धानको उत्पादनको हिसाबले यो वर्ष सबैभन्दा बढी धान उत्पादन गर्नेमा प्रदेश १, २ र ५ दरिएका छन् । यसमध्ये सबैभन्दा बढी प्रदेश २ मा १४ लाख २० हजार चार सय ३६ टन, प्रदेश १ मा १२ लाख ४५ हजार पाँच सय ४५ र प्रदेश ५ मा ११ लाख ८५ हजार चार सय ९३ टन धान फलेको छ । सबैभन्दा कम कर्णालीले उत्पादन गरेको छ । कर्णालीले एक लाख ३४ हजार चार सय सात टन धान फलाएको छ । जिल्लागत उत्पादनको आधारमा झापा, मोरङ, कैलाली, रूपन्देही र कपिलवस्तु पाँच शीर्ष स्थानमा छन् ।

यो वर्ष ३७ लाख ७४ हजार पाँच सय ९७ टन चामल उत्पादन हुन्छ । तथ्यांकलाई विश्लेषण गर्दा मागको आधारमा ९ लाख १७ हजार चार सय चार टन चामल अपुग हुने भएको छ । खाद्य तथा पोषणको आधारमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ किलो चामल तोकिएको छ । धानको उत्पादनमा आएको ह्रासका कारण यो वर्ष चामलको आयात दर वृद्धि हुने अवस्था आउन सक्ने कृषिविज्ञले चिन्ता व्यक्त गरेका छन् ।

उत्पादनमा कमी आउँदा गत आर्थिक वर्षमा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँबराबरको पाँच लाख ३४ हजार टन चामल आयात भएको थियो । यस्तै सोही आर्थिक वर्षमा ६ अर्ब ८४ करोड ६० लाख रुपैयाँको दुई लाख ३५ हजार टन धान आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा दुई अर्ब ८५ करोड रुपैयाँको एक लाख टन धान र आठ अर्ब ३३ करोड ९४ लाख रुपैयाँको एक लाख ५३ हजार टन चामल आयात भएको छ ।
श्रोत : अन्नपुर्ण पोष्ट

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*