१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सोचलाई व्यवहारमा उतारेर राम्रो आम्दानी गर्दै गरेका ओखलढुङ्गाका नैन

ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका वडा न. १ बलखुका नैन बहादुर पुलामी मगर बिहान पाँच बजे उठ्छन् । अनि सुरु भैहाल्छ माछालाई चारो, कुखुरालाई दाना र बंगुर गोठ तिरकोका कामकाज ।
आफ्नै ठाउँमा केहि गर्ने सपना बोकेर हिडेका नैन पोखरीको डिलमा उभिएर आफुले पालेका माछा हेर्दै मुसुमुसु हाँस्छन् । उनि भन्छन् “यति राम्ररी माछा हुर्केलान भन्ने सोचेको पनि थिईन” धेरै मेहेनत पनि गर्नु पर्दैन, सजिलै हुर्काउन सकिदो रहेछ” । नैन सुनाउँछन “अहिले माछा झण्डै ३ केजि पुग्न थाले” ।
नैनले पालेका माछा ग्रासकार्प प्रजातिका हुन । पोखरीमा २५ सय जति माछा छन् । बिहानै माछालाई दाना हाल्न जाँदा माछा हुर्कदै खेल्दै गरेको देख्दा खुसी लाग्ने गरेको उनी बताउँछन ।
नैनलाई यो युवा तथा साना व्यवसायी सोरोजगार कोषबाट सम्भव भएको हो । आफ्नै गाउँठाउँमा केही गर्ने सोच बनाई रहेका नैन ऋणको खोजिमा थिए ।
गाउँमा साथी भाई कुराकानि गर्दा युवा तथा साना व्यवसायी सोरोजगार कोषबाट सोरोजगार बन्न चाहनेलाई ऋण उपलव्ध हुने थाहा पाए । कोषको बारेमा बुझ्न थाले । नभन्दै ऋण पाउने संभावना बढ्यो । प्रयास गर्दै जाँदा ऋण पाउन सफल भए पनि ।
कोषबाट नैनले मिलिजुली कृषि सहकारी मार्फत मनकुमारी मगर र टेकेन्द्र पुलामी मगरको नाममा दुइ–दुइ लाख गरी ४ लाख ऋण लिए । अनि सुरु गरे माछा पालन व्यवसाय ।


माछा पालन संग संगै नैनको मानस्पटलमा थप अन्य केहि गर्ने र व्यवसायलाई अझ ठुलो बनाउने सोच आयो । त्यहि सोचलाई उनले व्यवहारमा बदलेरै देखाए पनि ।
अहिले नैनको ब्रोईलर कुखुरा फारम पनि छ । खोरमा भण्डै २ सय ब्रोईलर कुखुरा पनि छन् । कुखुरा संगै उनले बंगुर पनि पालन गरेका छन् । बंगुरले अहिले बच्च जन्माएको छ ।

खोरमा २५वटा बंगुर छन् । माछा, कुखुरा र बंगुर पालन गर्न दाना हाल्न सजिलो र उस्तै कार्य भएकाले यि तिनवटै व्यवसायलाई नैनले एकै साथ सुरु गरेका हुन् ।
अहिले काममा भ्याई नभ्याई छ । उनको दैनिकी पशुपंक्षी पालनमा सजिलै बित्छ । यो मेरो राम्रो आम्दानीको श्रोत बनेको छ, नैन सुनाउँछन् । नैनको बार्षिक ६ लाख भन्दा माथि आम्दानी हुन्छ रे ।
नैनको ३ भाई छोरा, श्रीमती र आफु सहित ५ जनाको परिवार छ । श्रीमती छोरा सवैले व्यवसायमा सघाउने गरेको नैन बताउँछन् । यसैबाट आफ्नो जिवन र परिवारको पालनपोषण खुसिका साथ चलिरहेको उनको भनाई छ ।
४ बर्ष मलेसिया बसेका नैन यस्तो राम्रो आम्दानी नैपालमै भएको देख्दा अरुलाई पनि आफ्नै ठाउँमा केहि गर्न सल्लाह दिन्छन् । एउटै घरमा माथि कुखुरा पालन छ । बिचमा बंगुर र तल माछा पालन गरिएको छ । यसरी एउटै घरमा तिनवटै व्यावसाय गर्ने तरिका नैनले बिदेशमा रहँदा देखेका रे ।
नैनले गाउँका एकजना पुरुषलाई रोजगारी पनि दिएका छन् । उनको फाममा ति पुरुष काम गरेको देख्दा नैनले मलेसियाको याद आउने गरेको बताउँछन् । अर्काको देशमा काम गर्न गएका उनि अहिले नेपालमै अरुलाई रोजगारी दिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन् ।
नैनले कृष्ण कृषि तथा पशुपंक्षी पालक लि.सुनकोशी १ बलखु ओखलढुङ्गा भनेर फमको नाम राखेका छन् । उनि त्यसको मालिक बनेका छन् । पहिला खल्तीमा दुईचार सय नहुने आफुलाई अहिले साहु जि भन्दा असजिलो लाग्छ रे । तर नेपालमै केहि गरेर देखाएकोमा खुसी पनि हुने गरेको उनि बताउँछन् ।
नैनको व्यवसाय देखेर सुनकोशी गाउँपालिकाले उनलाई ३ लाख अनुदान पनि दिएको छ । आफ्नो व्यवसायलाई अझ ठुलो बनाउने र आफ्नै गाउँघरमा थुप्रै नेपाली दाजुभाईलाई रोजगारी दिने सोच रहेको नैन सुनाउँछन् ।
अझै थप अनुदान पाए लिने र आफ्नो फर्मलाई बृहत बनाउन लाग्ने समेत नैन पुलमी मगरको योजना छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*