८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बोलाइएको विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ। अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय यस प्रदेशमा नउठ्ने देखिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो एक बजे पोखरा सभागृहमा विशेष अधिवशेन आह्वान गरेका हुन्।

नेकपामा आएको विभाजनले अन्य प्रदेशमा सरकार फेरबदलको कसरत चलिरहेको भए पनि गण्डकीमा भने असर परेको छैन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षका २७ र प्रचण्ड–नेपाल पक्षका १२ जना छन्। त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् । जनमोर्चाले ओली पक्षका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएपछि प्रचण्ड–नेपाल पक्षले सरकार फेरबदलका लागि कसरत नगरेको हो।

कोरोना भाइरसको महामारीका वेला सरकारले सामान्य उत्तरदायित्वसमेत निर्वाह गर्न नसकेको, नागरिक उपचार नपाएर अकालमा मृत्युवरण गर्न बाध्य भएको, जनसरोकारका विषयलाई सम्बोधन गर्न नसकेकोलगायतका विषयलाई लिएर विशेष अधिवेशन माग गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*