११ आश्विन २०७८, सोमबार  |  27 September 2021,Monday
Ad

आरनमै बित्यो लाल बहादुरको जीवन

हिक्मत बहादुर नेपाली
३, चैत्र, दुल्लु । धुलाम्ये सडक छेउको सानो झुपडी । खरको छानाभित्र असरल्ल छरिएका फलामका टुक्राहरु । थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । टिनको पाता, फिउसको भाँडो, साइकलको पाङ्ग्राले निर्माण गरिएको आरन । चुलो नजीकै घन र हतौडा । यो दृश्य दैलेखको दुल्लु नगरपालिका–८ स्थित पौवा खलंगाको सडकखण्ड छेउको फलामको सामग्री बनाउने आरनको हो । लाल बहादुर विक यही झुपडीमा बिहानीको झुल्के घामसँगै परम्परागत रुपमा फलामका सामग्री बनाउने काम गर्छन् । उनले यही आरनमा फलामको सामग्री बनाउन थालेको १५ वर्ष पुगिसक्यो तर, बाली प्रथाबाट अन्नबाली उठाएर जीवन गुजारा गर्नुपर्ने बाध्यताले अझै छोडेको छैन ।
उनले बुबाबाट आरनको काम गर्न सिकेका हुन् । “पुर्खादेखि नै यही काम गर्दै आएका छौं, आरनको काम गरेरै बुबाले हामीलाई पाल्नुभयो,” आरनको पङ्खा घुमाउँदै उनले भने – “मैले पनि आरन पेशा अङ्गाले ।” यस अघि केही समय गरगहना बनाउने काम गरेका लाल बहादुरले पछि गएर आरन पेशालाई नै निरन्तरता दिएका हुन् । गरगहना बनाउने काम नियमित नआउने र आम्दानी पनि नहुने भएपछि आरन पेशालाई निरन्तरता दिएको लाल बहादुरले बताए । “हाम्रा बाबुबाजेले आरनको काम गर्दा बाली प्रथा थियो, अहिले पनि त्यही छ,” उनी भन्छन्– “फलामको सामान बनाए बापत पैसा दिने थोरै छन् ।” उनका अनुसार पहिले तुलनामा पनि अहिले यो व्यवसाय फस्टाएको छैन । उनी काम गरेबापत बाली लिन्छन् । यहाँ वरपरका झण्डै ४० घरधुरी उनको बालीघरे हुन् । फलामका सामान बनाए बापत हरेक याममा उनी एक डोको मकै, पाँच पाथी धान र पाँच पाथी गहुँ लिने गर्छन् । उनका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् । “मेरो एक्लो कमाइले छ जनाको परिवार जसोतसो पालिरहेको छु,” उनले भने । फलाम बनाउने काममा उनका श्रीमती गगन मिजारले बेलाबखत सहयोग गर्ने गरेकी छन् ।
“काम गरेर दैनिक हातमुख जोड्न ठिक्क हुन्छ, छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले सताउँछ,” उनले भने – “एउटा छोरी सात कक्षामा पढ्छे । अर्की छोरी सानै छ । जेठो छोरा चार कक्षा पढेर छोड्यो । अर्को छोरा पनि सानै छ ।” आरन पेशाले उनको दैनिक गुजारा चलेको छ । “मेरो यही झुपडी भएको सडकखण्ड भएर स्थानीय तहदेखि मुलुकको मुख्य बागडोर सम्हालेका ठूला नेताहरु दिनहुँ जसो ओहोर दोहोर गर्छन् तर, मेरो यो झुपडीमा उनीहरुको नजर कहिल्यै गएन्,” उनले भने । उनी पुरानै प्रविधिबाट फलाम पिटिरहेका छन् । फलाम पिट्ने विद्युतीय मेसिन उनीसँग छैन । “यो पेसा जोखिमपूर्ण छ, आगो र फलामसँग काम गर्नुपर्छ, खुल्ला झुपडीमा काम गर्नु परेकाले धुलो र धुवाँ सहनु परिरहेको छ,” उनले भने – “हामीलाई नगरपालिकाले पनि हेरेन ।”
उनका लागि जीवन गुजाराको एउटै बाटो यही आरन मात्रै हो । आरन सञ्चालनका लागि अहिलेसम्म कसैको सहयोग नपाएको उनको गुनासो छ । आधुनिक आरन सञ्चालन गर्ने उनको धोको पूरा हुन सकेको छैन । आरन सञ्चालनका लागि आधुनिक मेसिनहरु सहयोग पाएको भए व्यवसायलाई व्यवस्थित गर्ने उनको योजना छ । उनले फाटफुट रूपमा ज्याला लिएर पनि भाँडावर्तन बनाउने गरेका छन् । आरनमा किसानका लागि खेतीपाती गर्ने र घरव्यवहार चलाउन आवश्यक पर्ने हँसिया, कुटो, कोदालो, फरुवा, बञ्चरोलगायतका फलामका औजार बन्ने गरेका छन् ।
आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन् । “अब गर्मी शुरु भयो आगोसँग दिनहुँ जसो खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउन मेहनत बढी गर्नुपर्छ ।” आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसाय नरुचाएको उनको बुझाइ छ । “आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदैछ,” उनले भने । मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरी, खुकुरी लगायतका औजार बनाउन गाउँले उनको आरनमा आउने गरेका छन् । कोइला, गोलको कमी हुँदा आगोमा फलाम तताउने तरीका हराउँदै छ । “राम्रो कोइलाले मात्र फलाम गाल्न सजिलो हुन्छ,” उनले भने – “दलित समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको आरन व्यवसायबाट जीविकोपार्जन गर्नै मुश्किल छ ।”
अधिकाँश मानिस पुरानै औजार मर्मत गर्न आरन आउने गरेको लाल बहादुरको अनुभव छ । पहिले जस्तो आरनमा बसेर फलाम पिट्ने काम गर्न उनी अहिले गर्न सक्दैनन् । “अचेलका पुस्तालाई न आरनको बारेमा थाहा छ, न त आरनको कामलाई महत्व नै दिन्छन्,” उनले भने – “गाउँ गाउँमा आधुनिक ग्रिल उद्योगहरु सञ्चालनमा आएपछि हाम्रो आरनको महत्व दिनप्रतिदिन घट्दै गइरहेको छ ।”
“अहिलेको पुस्ता देशमा आरनको काम गर्नुभन्दा विदेश जान रुचाउँछन्,” उनले भने । व्यावसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको छ । लाल बहादुर मात्र होइन यहाँका गाउँ पिच्छे आरन सञ्चालनमा छन्, तर, यस पेशामा संलग्न व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन । दैनिक गुजारा चलाउन मात्र आरनमै निर्भर रहनपरेको दलित समुदायको गुनासो छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको स्रोत बन्न नसक्दा दलित युवाको आकर्षण बढ्न सकेको छैन । आफ्ना पुर्खादेखि गरिँदै आइएको आरन व्यवसायलाई थप सुधार गर्दै लैजानुपर्ने यहाँका दलित अगुवाहरु बताउँछन् । (रासस)

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*