आन्दोलनरत शिक्षकहरूको प्रदर्शन १९ औं दिन आज पनि जारी

न्यूज समय

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले प्रदर्शनलाई १९ औं दिन आज पनि जारी राखेका छन् । उनीहरूले विहान ९ वजेदेखि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिबद्धता जनाउँदासमेत आन्दोलन छोडेका छैनन् ।

विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ ।

शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।