नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानमा भएको निर्वाचन प्रणाली अन्तरगत कुनै एक पार्टीको बहुमत आउन गाह्रो भए पनि सबैलाई मिलाउन सक्ने व्यवस्था भएको उल्लेख गरेका छन् । पाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।
देउवाले भने–‘यस संविधानमा रहेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ । तर, बहुमत आउन गाह्रो भए पनि सबैलाई मिलाउन सक्ने संविधान छ । आदिवासी जनजाति, महिला, मुस्लिमसहित सबैको प्रतिनिधित्व यस संविधानले सुनिश्चित गरेको छ ।’
नेपालको संविधान उत्कृष्ट दस्ताबेज भएको भन्दै उनले भने– ‘हाम्रो देश अहिले समावेशी समानुतिक प्रतिनिधित्वका आधारमा चलिरहेको छ । यसमा संविधानतः मुस्लिम समुदायको पनि प्रतिनिधित्व भएको छ । नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर जाने प्रबन्ध संविधानले नै गरेको छ ।’
त्यस क्रममा देउवाले मुस्लिम समुदाय नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा अत्यन्तै मेलमिलाप गरेर बसेको बताए । उनले मुस्लिम समुदायमा मिहिनेती स्वभाव संस्कारकै रूपमा रहेको पनि बताए ।
न्यूज समय
३१ चैत्र, २०८१, आईतबार ००:००