बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको बताएकी छन् । आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै युनुसले विदेशी सहयोगमार्फत पूर्वनियोजित योजना अनुसार सत्ता कब्जा गरेको आरोप लगाइन् ।
हसिनाले आफुले सबै त्यागेर मुलुक नछाडेको भन्दै आफु संविधान अनुसार जनताद्वारा निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको समर्थन प्राप्त प्रधानमन्त्री भएको बताईन् । उनले भनिन्– ‘उनीहरूले नसोचून् कि मैले सबै कुरा त्यागेर देश छोडेकी हुँ। संविधानअनुसार, म जनताद्वारा निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको समर्थन प्राप्त प्रधानमन्त्री हुँ। युनुसको अन्तरिम सरकारको कुनै वैधता छैन।’
उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्। शेख हसीनाले अवामी लिगमाथि प्रतिबन्ध लगाउने माग उठाउनेहरूप्रति चर्को प्रतिक्रिया दिँदै भनिन्, ‘यस्ता माग गर्नेहरूको हिम्मत देख्दा म चकित छु।’ गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत आएकी थिइन्।
त्यसयता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसीनालाई बंगलादेश बुझाउन भारत सरकारसँग अनुरोध गर्दै आएको छ। यसअघि पनि उनले आफ्ना समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै आएकी थिइन्।
न्यूज समय
२७ चैत्र, २०८१, बुधबार ००:००