तीनकुनेमा मारिएका दुई परिवारलाई भाटभटेनीको सहयोग, सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर दिइने

न्यूज समय

भाटभटेनी सुपरमार्केट्सले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई नगद सहयोग गरेको छ । सो सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले मंगलवार मृतकका परिवारलाई चेक हस्तान्रण गरेका हुन् ।

तीनकुने घटनामा एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जन मृत्यु भएको थियो । अध्यक्ष गुरुङले रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पुर्‍याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताए ।

त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए ।