हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याइयो, सुरु भयो फागु अर्थात होली पर्व

न्यूज समय

काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याइएको छ । यो सँगै फागु अर्थात होली पर्व सुरु भएको छ। शुभ साइत अर्थात् शुक्रवार बिहान ८ः३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर ठड्याइएको हो।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ।

योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ। चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई–मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।