शेख हसिनाको दल अवामी लिगले आजबाट विरोध कार्यक्रम सुरू, बन्द हडतालसम्मका कार्यक्रम तय

न्यूज समय

काठमाडौंँ । बंगलादेशमा राजनीतिक संकट चुलिएसँगै अपदस्त गरिएको शेख हसिनाको दल अवामी लिगले आजबाट विरोध कार्यक्रम सुरू गरेको छ । अवामी लिगलाई धरपकड तथा अगामी चुनावमा भाग लिन नदिने चर्चा चलेसँगै आन्दोलन उठेको हो ।

आज बंगलादेशभर विरोधका कार्यक्रम घोषणा भएका छन् । यस्तै फेब्रुअरी १६ मा बंगलादेश बन्दको कार्यक्रम राखिएको छ । त्यसको दुई दिनपछि हड्ताल हुने बताइएको छ ।

अन्तरिम सरकारका प्रमुख महोमद युनुसको राजीनामा, शेख हसिनालाई अन्तर्राष्ट्रिय अदालतमा लाइएका मुद्दा फिर्ता तथा खराब शासनको अन्त्य लगायतका माग राखेर आन्दोलन थालिएको हो ।

हसिनाले प्रतिबन्ध गरेको बंगलादेश नेसनालिस्ट पार्टी बीएनपीले पनि बंगलादेशका ६४ जिल्लामा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बंगलादेशमा दलविहीन अन्तरिम सरकारको अलोकप्रियतासँगै अहिले दुई फरक कित्ताका दलहरू अवामी लिग र बीएनपी एकजुट आएको भारतीय संचारमाध्यामले बताएका छन् ।