दमौली । तनहुँको ऋषिङ गाउँपालिका– १ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा १०१ परिवारलाई रकम प्रदान गरिएको हो।
क्षतिपूर्ति रकम अधिकतम तीन लाख र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए। आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ।
बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ। बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी रहेको आयोजनाप्रमुख भण्डारीले जानकारी दिए ।
न्यूज समय
१८ माघ, २०८१, शुक्रबार ००:००