प्रहरीमा सबैभन्दा बढि उजुरी बैंकिङ कसुर अन्तरगत, एक महिना मै ४ हजार ३ सय ४५ उजुरी

न्यूज समय


काठमाडौं । प्रहरीमा पर्ने उजुरी मध्ये सबैभन्दा बढि बैंकिङ कसुर अन्तरगतका उजुरी रहेका छन् । नेपाल प्रहरीको मुख्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा नेपाल प्रहरीमा ४ हजार ३ सय ४५ उजुरी नेपाल प्रहरीमा दर्ता भएका छन्। ती मध्ये ११ सय ४६ बैंकिङ कसुरका उजुरी रहेका छन् ।

दोश्रोमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दा ६०१ र तेस्रोमा आत्महत्या ४२४ वटा उजुरी प्रहरीमा पुगेका छन् ।

त्यस्तै लागुऔषधका ४१३, चोरीका २७२, ठगीका २२२ उजुरी प्रहरीसंग पुगेका छन् । यसैगरी सवारी ज्यान सम्बन्धी १६८, जबरजस्ती करणीका १५०, ज्यान मार्ने उद्योगमा ८५ र कर्तव्य ज्यान मुद्दा ४१ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १३ सय ६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ उजुरी दर्ता हुँदा सुदूरपश्चिममा २७०, गण्डकीमा ३०६, बागमतीमा ४२९, लुम्बिनीमा ५४६, कोशीमा ६३० र मधेशमा ६५० उजुरी प्रहरीकहाँ पुगेका छन्।