हालै जारी भएका अध्यादेशले निजी क्षेत्रलाई उत्साही : अध्यक्ष ढकाल

न्यूज समय

बेनी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै जारी भएका अध्यादेशले निजी क्षेत्रलाई उत्साही बनाएको बताएका छन्। म्याग्दीको बेनीमा आज आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औँद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको बताए ।

उनले सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको उल्लेख गर्दै निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको बताए ।

नेपाल उद्योग वाणिज्य सङ्घको अगुवाइमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताए। कोरोना महामारी, रूस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण सङ्कुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको उनले प्रष्ट्याए।