काठमाडाै । प्रहरीले माेटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-८ घर भएका ३० वर्षीय सञ्जय तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका-८ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २९ वर्षीय सुवास तामाङ र शिवपुरी गाउँपालिका-७ घर भई हाल काठमाडौं बालाजु बाइपास बस्ने ३६ वर्षीय कुमार तामाङ भन्ने मीन बहादुर तामाङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले चोरीका चार वटा मोटरसाइकल समेत बरामद गरेको छ । गत मंसिर ४ गते साँझ काठमाडौं कीर्तिपुर नगरपालिका-२ झोलुङ्गे पुल नजिकै विजय राज उपाध्यायले पार्किङ गरी राखेको बा.प्र.०२-२६ प.०३३७ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने प्रहरी वृत्त कीर्तिपुरमा सूचना प्राप्त भएको थियो ।
त्यसपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पुस २४ गते दिउँसो टोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित सडकखण्डमा उक्त चोरी भएको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाएको अवस्थामा फेला पारी सञ्जय तामाङ र सुवास तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान गर्दा सोही मोटरसाइकल चोरीमा संलग्न भई फरार रहेका कुमार तामाङ भन्ने मीन बहादुर तामाङलाई पुस २६ गते बालाजु बाइपासमा फेला पारी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी धादिङ पुर्याई लुकाई छिपाई राखेको अवस्थामा थप तीन वटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
न्यूज समय
४ माघ, २०८१, शुक्रबार ००:००