पूर्वडीआइजी जोशी फरार, एक सातासम्म पनि काठमाडौं जिल्ला अदालत पुगेनन्

न्यूज समय


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका छविलाल जोशी एक सातासम्म पनि जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छैनन् ।

अघिल्लो बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने थियो । तर साता दिन वित्दा पनि छविलाल अदालतमा हाजिर भएका छैनन् । कास्की प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा आफैँ हाजिर हुने शर्तमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको जिम्मा लगाएर पठाएको थियो।

शुक्रबार अदालतमा उपस्थित हुनुपर्नेमा जोशी अर्को साताको बुधबार समेत अदालतमा उपस्थित नभएको जिल्ला अदालतका काठमाडौंले जनाएको छ । रवि लामिछाने पनि शुक्रबार उपस्थित हुनुपर्नेमा भएका थिएनन्। पोखराबाट काठमाडौं आउने हवाई टिकट नपाएको र स्थल मार्ग भएर आउँदा समय लागेको कारण दिँदै आइतबार मात्र उनी अदालत उपस्थित भएका थिए।