राजधानीमा जारी एन्फा यू–१६ लिग फुटबलमा एपीएफको जीत

न्यूज समय

काठमाडौं । राजधानीमा जारी एन्फा यू–१६ लिग फुटबलमा विभागीय क्लब एपीएफले जीत निकालेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा एन्फा मैदान सातदोवाटोमा शुक्रबार भएको पहिलो खेलमा एपीएफले चर्च बोइजलाई ३–२ गोल अन्तरले पराजित गर्दै जीत निकालेको हो । खेलको २५ औं मिनेटमा सनिल मगरले गोल गर्दै चर्च बोइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको चर्च बोइजले दोस्रो हाफको सुरुमा गोल खान पुग्यो । ५१ औं मिनेटमा एपीएफका तेन्जिङ शेर्पाले गोल गर्दै खेल बराबरी गरे । ६४ औं मिनेटमा चर्च बोइजनका सुशन थापा मगरले गोल गरेपछि अग्रता २–१ भएको थियो । ६६ औं मिनेटमा चर्च बोइजका किपरले फल गरेपछि पाएको पेनाल्टीलाई अविन बस्यालले खेल बराबरी गर्ने मौका गुमाए । लगत्तै अर्को मिनेटमा उनै अविनले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो ।

८३ औं मिनेटमा चर्च बोइजका आदित्य रानामगरले आफ्नै पोस्टमा गोल गरेपछि एपीएफले खेलमा ३–२ को अग्रता लियो । ८५ औं मिनेटमा चर्च बोइजका रमेश दंगाल दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य हुँदा उनको टिम १० खेलाडीमा समेटिएको थियो । अन्ततः एपीएफले ३–२ ले खेल जित्दै स्पष्ट ३ अंक थप्न सफल भयो । एपीएफका तेन्जिङ शेर्पा प्लेयर अफ दी म्याच घोषित भए ।